मिरमिरे टिजरः दयाहाङलाई दोहोरो जिम्मेवारी

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्मको टिजरमा प्रमुख कलाकार दयाहाङ राईलाई स्कुलको कर्मचारी र छोरीको लालनपालनको जिम्मेवारी निभाएको देखाइएको छ ।

आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको भावनात्मक सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ । दयाहाङले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन् । छोरीले जानअनजानमा नै आमाको अभावको महसुस गरिरहेकी छन् । यो दयाहाङले पनि महसुस गरेका छन् ।

सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । दयाहाङ राई र प्रकाश सपूतसँग उनी प्रेममा रहेको हो कि भन्ने सिनेमाको संवाद र दृश्यले देखाएको छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल छन् ।