एक्लो ट्रेलरः पूर्वीय आध्यात्मिक परम्परामा पश्चिमा जनराको मिश्रण

काठमाडौँ। फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ। ललितपुरमा बिहीबार एक कार्यक्रम गर्दै झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

कार्यक्रममा निर्देशक प्रदीप शाही, कलाकारहरु प्रदीप खड्का, विजय लामा, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपालीलगायतको उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले आफ्नो व्यस्तताको समयमा पनि टिम र फिल्मको बिषयबस्तु मन परेर काम गरेको बताए। शाहीले पूर्वीय आध्यात्मिक परम्परालाई आफूले पश्चिमा जनराका तत्वसँग मिश्रण गरेको बताए ।

काभ्रेको पनौती र हिमालपारिको जिल्ला मुस्ताङमा फिल्म छायांकन गरिएको छ । यो फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास(ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । त्यसपछि उनीहरूको अगाडिको कथा सुरु हुन्छ । बाँकी कथालाई दोस्रो अध्यायमा देखाउने जानकारी निर्देशक शाहीले दिए ।

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणमा नेपाली फिल्म ‘एक्लो’ ले विभिन्न कार्यक्रममा सहभागिता जनाएको थियो। कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गरेको थियो ।

डिसेम्बर २८ मा अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज मा फिल्मको ऐतिहासिक प्रिमियर हुने तय भई सकेको छ। नेपालमा यो फिल्म पुष १७ गते रिलिज हुँदैछ ।