परानको ५१ औं दिनमा बालबालिकालाई न्यानो कपडा

काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म ‘परान’ले देशभरका ३० बढी हलमा प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यही खुशीयालीमा फिल्मको टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा त्यहाँ आश्रित ६५ जना अनाथ र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । फिल्मका निर्माता रन्जित आचार्यका अनुसार आगामी साता एक विशेष कार्यक्रम गरिनेछ ।

आश्रमकी सन्चालिका दिक्षा चापागाईंले केही साता अघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरुलाई फिल्म देखाएको स्मरण गर्दै छोराछोरी र आमाबुबा प्रतिको प्रेमलाई फिल्मले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि उनले ‘परान’ देखाएको खुलाइन् । फिल्मका निर्देशक दिपकप्रसाद आचार्यले ५१ दिनसम्म पनि फिल्मलाई दर्शकले दिएको माया देख्दा खुशी लागेको बताउँदै यो मायाले आफूलाई थप जिम्मेवार बनाएको बताए ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङलगायतको अभिनय छ ।

फिल्मका निर्माता आचार्यले फिल्मले ५१ दिन पुरा गर्दा १८ करोड रुपैंया ग्रस कलेक्सन गरेको जानकारी दिए । यो सँगै फिल्मले नेपाली फिल्म्को व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्मसमेत बनेको छ ।