बिटी कान्छा भन्छन्– काठमाडौंले जुरायो हरामी

काठमाडौं । बिटी कान्छाको उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब सिरिज ‘हरामी’ भिडिओ प्लेटफर्म युट्युबमा साप्ताहिक रूपमा प्रसारण भइरहेको छ । पाँच भागमा निर्माण गरिएको यो सिरिज हरेक शुक्रबार सार्वजनिक हुँदै आएको छ, जसको प्रत्येक भागको अवधि करिब २५ मिनेट रहेको छ ।

नेपालमा युट्युब प्लेटफर्ममा प्रायः छोरी–चेलीका दुःखका कथामा आधारित सिरिज निर्माण भइरहँदा बिटी कान्छाले भने युवा दर्शकलाई लक्षित गर्दै फरक स्वादको कन्टेन्ट प्रस्तुत गरेका छन् । बिटीका अनुसार उनको सिरिजले घरेलु दर्शकभन्दा बाहिर निस्कँदै युवापुस्ताको जीवनशैली, सोच र सम्बन्धलाई केन्द्रमा राखेको छ । ‘पहिलो भागभन्दा दोस्रो र तेस्रो भागमा प्रतिक्रिया अझ राम्रो आएको छ । सिरिजको कथा एउटा फ्ल्याटमा बस्ने तीन जना युवाको जीवन वरिपरि घुम्छ, जहाँ प्रेम, करिअर र सम्बन्धका विविध आयामहरू प्रस्तुत गरिएको छ’, उनले भने ।

बिटी कान्छाले सिरिजका एक पात्र निकुन श्रेष्ठको जीवनबाट आइडिया आएको खुलाएका छन् । भारतको कालिम्पोङबाट नेपाल आउँदा निकुनको घरमा बसेका बिटीले उनका बुबा–आमा अमेरिका रहेका कारण उनी एक्लै बस्दै रुचि मिल्ने साथीहरूसँग निस्फिक्री जीवन बिताइरहेको देखेपछि त्यसैबाट सिरिजको आधार तयार भएको जनाए ।

सिरिजका पात्रमध्ये एक निकुन श्रेष्ठ स्वयं पनि यस योजनामा सुरुदेखि नै संलग्न थिए । उनका अनुसार ‘हरामी’ बनाउने सोच सन् २०२० देखि नै थियो । मन प्रडक्सनसँग आबद्ध निकुन कार्यकारी निर्माता समेत हुन् । कोभिडका कारण ढिलाइ भए पनि सन् २०२५ मा आएर योजना मूर्त रूप लिन सफल भएको उनले बताए ।

अहिलेसम्म सिरिजमा आना शर्मा र आयुष्मान देशराज जोशी अतिथि कलाकारका रूपमा देखिएका छन् । चौथो र पाँचौँ भागमा पनि सेलेब्रिटी कलाकारको उपस्थिति रहने निर्माण पक्षले जनाएको छ । सिरिजका नियमित कलाकारमा निकुन श्रेष्ठसँगै ऋषिकेश बस्याल, शशांक बोहरा, रक्षा थापा र गौमाया गुरुङ रहेका छन् । निर्माण कम्पनीले सिरिजको पाँचौँ भाग विशेष कार्यक्रमसहित समापन गर्ने तयारी गरेको छ ।