चलचित्र संग्रहालयमा डिजिटल र फिजिटल पोस्टर राख्दै विकास बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले बोर्डअन्तर्गत स्थापना गरिएको चलचित्र संग्राहलयमा नेपाली फिल्मका पोष्टर (डिजिटल तथा फिजिकल) राख्न यसको संकलन कार्य सुरु गरिएको छ । बोर्डले स्वदेशी फिल्मको इतिहास, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली फिल्मका पोष्टरहरू समेटिएको विशेष प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ।

प्रदर्शनीका लागि बोर्डले फिल्म निर्माता, निर्देशक तथा सरोकारवालाहरूलाई आफू सम्बन्धित फिल्मका पोष्टरहरू उपलब्ध गराउन सुचना जारी गर्दै अनुरोध गरेको छ। बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, नेपाली फिल्मका पोष्टरहरू केवल प्रचार सामग्री मात्र नभई, फिल्म इतिहास र समयको अभिलेख पनि हुन्। यस्ता सामग्रीको संरक्षण र सार्वजनिक प्रदर्शनीमार्फत नयाँ पुस्तालाई नेपाली फिल्मको यात्रासँग परिचित गराउनु बोर्डको उद्देश्य हो।

बोर्डले सम्बन्धित सबै फिल्मकर्मी तथा अधिकार प्राप्त व्यक्तिहरूलाई आगामी मंगलबारभित्र आफू संलग्न फिल्मका पोष्टरहरू डिजिटल वा फिजिकल स्वरूपमा उपलब्ध गराई यस महत्वपूर्ण कार्यमा सहयोग गर्न आग्रह गरेको छ।