विकास बोर्ड र अष्टनारायण हलमा ह्वाङ तामाङको विशेष शो

काठमाडौँ । तामाङ भाषामा निर्मित फिल्म ‘ह्वाङ तामाङ (हामी तामाङ)’ को विशेष शो हुने भएको छ। जिम्बा फिल्म प्रोडक्सनको चौधो प्रस्तुति भएको यो फिल्मको विशेष प्रदर्शन चलचित्र विकास बोर्ड र अष्टनारायण हल, काठमाडौंमा यही पुष २६ गते शनिवार आयोजना गरिँदै छ।

निमा लामा तामाङको निर्देशन रहेको फिल्मले तामाङ समाजको जीवनशैली, परम्परा, संस्कार, संघर्ष र पहिचानका विविध पाटालाई कथानकमा समेटिएको छ। फिल्ममा सामाजिक यथार्थ, परिवारिक सम्बन्ध र सांस्कृतिक गहिराइलाई रोचक र भावनात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। फिल्ममा जय स्याङ्तन, अभि लामा, सिताराम गोले, अनिता गोले, कल्पना वाइबा, निर्मला मोक्तान, राजकुमार स्याङतान, प्रबल थिङ, पूजा लामा, चन्द्रमाया दोङ, मङ्गल सिंह, ग्याबा छविलाल बोम्जनलगायतका कलाकारको अभिनय छ ।

फिल्मका निर्माता प्रवल थिङ तामाङका अनुसार ‘ह्वाङ तामाङ’ तामाङ भाषाको सम्भावना, कला र कथालाई मुख्यधारमा स्थापित गर्ने उद्देश्यले तयार पारिएको परियोजना हो। सहनिर्माता कारसाङ लामा दोङले पनि फिल्मलाई गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखेको बताइएको छ।

तामाङ समुदायदेखि अन्य भाषाभाषी दर्शकले समेत हेर्न सक्ने गरी तयार गरिएको फिल्ममा शब्द–सङ्गीत निमा लामा तामाङकै रहेको छ भने छायांकन सूर्य लामाले गरेका छन्। विशेष शो पश्चात फिल्मले देशभरका तामाङ समुदाय बसोबास हुने मुख्य क्षेत्रहरूमा पनि प्रदर्शन यात्रा अघि बढाउने निर्माण पक्षले जनाएको छ।