चिसो छल्दै रोल नंं. १ को छायांकन पुरा

काठमाडौँ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘रोल नं। १’ को पहिलो चरणको छायांकन पूरा भएको छ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा गत १५ मंसिरदेखि ४२ दिन लगाएर फिल्मको मुख्य हिस्सा छायांकन गरिएको थियो । फिल्मका निर्माता विनोद पौडेलले चिसो मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सकिएको बताए ।

‘हामी ४५ दिनको तालिका लिएर निस्केका थियौँ, ४२ दिनमा म्याग्दीको सेड्युल सक्यौँ । प्राविधिक टोलीलाई चिसोले बढी गाह्रो बनायो । रात्रिकालीन दृश्यहरू खिच्दा १० बजेपछि तापक्रम निकै घट्ने भएकाले काम गर्न कठिनाइ भयो’, उनले भने ।

जोन योञ्जनको निर्देशन तथा कथामा निर्माण भएको फिल्म विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र जित्नैपर्ने मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मीको अभिनय छ । फिल्मको रिलिज मिति चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।