अमेजनमा हरिवंशको भूठान रिलिज

काठमाडौं । फिल्म ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक भएको छ । फिल्मका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ देखि अमेजनले आधिकारिक रुपमा भूठानको अंग्रेजी नाम ‘द वल्र्डस् ह्यापियष्ट म्यान’बाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरेको हो । विस्तारै फिल्म संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेछ ।

गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्ममा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ । वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास र जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको पीडालाई देखाइएको छ ।

फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् । हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् ।

अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ । फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।