काठमाडौं । नेपाली अभिनेता अनुप विक्रम शाहीको अभिनय रहेको बलिउड फिल्म ‘ब्याटल अफ गलवान’को गीत ‘मातृभूमि’ सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा अरिजीत सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर छ । गीतको भिडियोमा अभिनेता सलमान खान र अनुपविक्रम शाहीलाई देख्न सकिन्छ ।
गीतमा अनुपलाई चिनियाँ सेनाको भूमिकामा देखाइएको छ । एक दृश्यमा अनुप हात जोडेर सलमानको अगाडि निहुँरिएका छन् भने सलमानले नमस्कार गरेका छन् ।
फिल्म सन् २०२० मा भारतको पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा आधारित छ । आगामी १७ अप्रिल (४ बैशाख)मा रिलिज हुने फिल्ममा सलमानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिका निभाएका छन् ।
यो सन्तोषको बायोपिक फिल्म हो । अपूर्व लाखियाको निर्देशनमा बनेको फिल्ममा सलमान र अनुपसँगै चित्रांगदा सिंह र दिवंगत गायक प्रशान्त तामाङको अभिनय छ ।







