काठमाडौं । विवशकुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्म ‘बुकी’को पहिलो गीत ‘तिमी मैसँग भई राख हे’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । प्रेम र यात्राको कथा भनिएको यस गीतमा दुई पात्रको आत्मियता र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको यस गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत छ । भिडियोमा बाग्लुङको ढोरपाटन र आसपासका क्षेत्रहरूलाई निकै सुन्दर ढंगले खिचिएको छ । सडक यात्रा, हिउँले ढाकिएका पहाडहरू र स्थानीय गाउँले बस्तीहरूले भिडियोलाई एउटा ‘ट्राभल ब्लग’ जस्तै जीवन्त बनाएको छ ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । फिल्मको छायांकन काठमाडौं, पोखरा र बाग्लुङको ढोरपाटनमा गरिएको छ ।
लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को–प्रोडुसरका रूपमा रहेका छन् । फिल्म २०२६ भित्र रिलिज हुने निर्माण पक्षले जनाएको छ ।







