लालिमाबारे के भन्छन् उषा र रोशनी

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’का दुई नायिका रोशनी कार्की र उषा रजकले विगतका फिल्मभन्दा यसमा काम गर्दाको फरक अनुभव सुनााएका छन् ।

नायिका रोशनी‘ले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो नै उनको करिअरको विशेष फरक अनुभव हो । त्यसमाथि उनको पात्रको नामबाटै फिल्मको शीर्ष राखिएको छ । ‘शीर्ष भूमिकाको प्रस्तावलाई आफूले अवसर र चुनौती दुवै कोणबाट ग्रहण गरेकी छु’, उनले भनिन्, ‘मलाई शीर्ष भूमिकाको प्रस्ताव आउँदा चुनौती महसुस भएको थियो । फिल्म नै आफ्नो काँधमा लिएर हिड्न सक्छु कि सक्दिनँ भन्ने डर पनि लागेको थियो ।’

उनले यस फिल्मको पात्र ‘लालिमा’ निर्माणका लागि व्यक्तिगत रुपमा नौलो अभ्यास गरेको बताइन् । ‘यो फिल्ममा मैले यौनकर्मीको भूमिका निर्वाह गरेको छु । यौनकर्मीहरू मैले कहिल्यै देखेको पनि थिइनँ, न निगरानी नै गरेको थिएँ । यही कारण मैले पात्र निर्माणका लागि यौनकर्मीहरूसँग भेट्नुपर्‍यो । यो मेरो फरक अनुभव हो’, उनले भनिन् ।

नायिका उषा यो फिल्ममा ‘आमा’को भूमिकामा छिन् । यो पात्रको शारीरिक विशेषता फरक क्षमता (बोल्न नसक्ने) छ । ‘लालिमा’मा जस्तै फरक क्षमताको पात्र उनले पहिल्यै निर्वाह गरेको थिइन् । तर, उनले आफ्नो दुई दशकभन्दा लामो अभिनय करिअरमा लिएको पहिलो निर्णय हो– आमाको भूमिकामा निर्वाह गर्ने ।

‘मलाई सामाजिक सञ्जालमा ‘अब तपाईंको उमेरअनुसारको क्यारेक्टर गर्नुस्’ भनेर प्रतिक्रिया आएको थियो । दर्शकको त्यही प्रतिक्रिया वा सुझावलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी हुँ,’ उनले भनिन् ।

फिल्ममा यी दुई नायिकासँगै नायक जीवन भट्टराई हुन् । उनीहरूसहित फिल्ममा सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फिल्ममा रोशन मिराजको लेखन र निर्देशन छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दैछ ।