काठमाडौं । कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कमला मिस’ को छायांकन पुरा भएको छ। गत फागुन १ गतेदेखि सुरु गरिएको यस फिल्मको सम्पूर्ण सुटिङ मंगलबार सकिएको हो। लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम भोम्जन)का अनुसार फिल्मको छायांकन करिब २३ दिनमा पूरा गरिएको हो। बीचमा चुनावका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सम्पन्न गरिएको उनले बताए।
मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्ममा निर्देशक नीर शाहसहित रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय छ ।
फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेकी हुन् । यसका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन् । फिल्मको कथा विजय मल्लको हो। पटकथा तथा संवाद निर्देशक नीर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुबेदीको रहेको भने सगर बोहरा मुख्य सहायक निर्देशक हुन्।




