काठमाडौं । काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट फिल्मको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।
क्यामेरा पूजा गर्दै छायांकन थालिएको फिल्मको पहिलो दिनको सेड्युलमा फिल्मका मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।
फिल्मको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित फिल्म भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो । फिल्ममा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ । फिल्मको महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् ।
फिल्ममा वसन्त निरौलाको निर्देशन रहनेछ । फिल्ममा सुशील पौडेलको कथा, पटकथा तथा संवाद छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् । फिल्ममा श्याम तामाङको छायांकन हुनेछ । करिब ४० दिनको छायाकंन तालिका तय गरिएको अधिकांश दृश्य झापा मै खिचिने निर्माण टिमले जानकारी दिएको छ ।
फिल्म ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने छ । झापाका विभिन्न रमणीय स्थानहरूमा छायांकन सकेपछि टोलीले अन्य स्थानको सेड्युल तय गर्ने निर्देशक निरौलाले जानकारी दिए ।




