काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा यही चैत्र ५ गते शुक्रबार काठमाडौंमा तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ हुने भएको छ । गत फाल्गुन १५ गते देखि २४ गते सम्म तयारी गरिएको मेला फागुन २१ को निर्वाचनका कारण चैत्र ५ गते देखि १४ गतेसम्म आयोजना हुन लागेको हो ।
आयोजकका अनुसार यस पटकको महोत्सव काठमाडौं, पोखरा र ललितपुर, काभ्र र बुढानिलकण्ठजस्ता पर्यटकिय तथा ऐतिहासिक क्षेत्रमा हुन लागेको आयोजकले जनाएका छन् । ‘ऐतिहासिक तथा विश्व सम्पदा सुचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’,आयोजकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आयोजकका अनुसार यस अन्तर्राष्ट्रिय मेलामा वोत्सवाना, इस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान, टर्की, पोल्यान्ड, साउथ अफ्रिका र नेपाल लगायत विभिन्न राष्ट्रका सांस्कृतिक समूहका २६० भन्दा बढी कलाकारहरुले भाग लिने निश्चित भइसकेको छ । तर हाल इरान–अमेरिका र इजरायल द्वन्द्वले मध्यपूर्वबाट आउने उडानहरु प्रभावित भएका कारण केही देशको उपस्थिति कम हुने आयोजकको दाबी छ ।




