काठमाडौँ। लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्म ‘गंगारानी’ निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन जेठको अन्त्यतिर हुनेछ ।
राष्ट्रिय पुरस्कार विजेता लेखक तथा निर्देशक सानेकै लेखन तथा निर्देशन रहने फिल्म प्रेमकथामा आधारित हुनेछ । निर्देशक सानेका अनुसार फिल्मका कलाकार तथा अन्य प्राविधिकहरू भने हालसम्म अन्तिम चरणमा टुंगो लाग्न बाँकी छ ।
फिल्मको औपचारिक घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा एक युवक गिटार बोकेर उभिएको देखिन्छ भने एक युवती गाडीमा आड लिएर उभिएकी छन्। फिल्ममा एक गरिब युवक र धनी युवतीबीचको प्रेमकथा प्रस्तुत गरिने निर्देशक सानेको भनाई छ ।
निर्देशक सानेले झण्डै एक दर्जन फिल्ममा काम गरिसकेका छन्। उनले ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । फिल्म ‘बुलाकी’ बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कारसमेत जित्न सफल भएका थिए।




