महाराजधिराजमा पुष्प महाराजधिराज

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै फिल्मको पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा पुष्पलाई दुईवटा विपरीत र शक्तिशाली लुक्समा देखाइएको छ ।

एउटामा पुष्प पूर्ण राजकीय ठाँटमा देखिएका छन् । उनले शिरमा श्रीपेच, हातमा राजदण्ड र शरीरमा राजर्षि पहिरन लगाएका छन् । यो लुक्सले उनी फिल्ममा राजाको भूमिकामा रहेको स्पष्ट संकेत गर्छ । अर्को लुक्समा भने उनी पूर्ण नग्न र शारीरिक रूपमा अत्यन्तै दुब्लो एवं कमजोर अवस्थामा देखिएका छन् । एक ‘भिन्जेट’ कुर्सीमा बसेका ती कमजोर पात्रको पछाडि राजाको पोसाकमा सजिएका पुष्प उभिएका छन् । पोस्टरमा ‘सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस् ।’ नारा लेखिएको छ ।

यही बैशाखको दोस्रो साता पछिबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । फिल्ममा नबराज थापाको छायांकन हुनेछ ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । फिल्म आगामी फूलपातीमा रिलिज हुनेछ ।