अनुशाको पोइटिक डायस्पोरामाथि विमर्श

काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति पोइटिक डायस्पोरामाथि विमर्श गरिएको छ। ललितपुरको हात्तिबनमा आयोजित कार्यक्रममा उक्त कृतिमाथि समीक्षा गरिएको हो।

कार्यक्रममा प्राडा अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताए। अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको उनले दाबी गरे । उनले लेखकको कुनै विषयलाई समातेर शब्दमा खेल्न सक्ने क्षमता र शाब्दिक परिकल्पनाशक्ति निकै बलियो रहेको बताए।

कवि समीक्षक केशव सिग्देलले अनुशाका कविता उच्च कोटिका भएको बताए। ‘शब्द–शब्दमा गहन अर्थ मीठो सिल्पिमा बाँधिएका छन्। खुट्किलावद्ध शैलीले पाठकलाई नतानी रहन सक्दैन। कवितामा भक्तिधारामा प्रवाहित छन्। कविता पढ्दा कविभित्रको स्वतन्त्रताको चिन्तन प्रस्टरुपमा छचल्किन्छ’ उनले भने।

अर्का समीक्षक महेश पौडेलले अनुशाका कवितामा जीवन र जगतलाई हेर्ने आयु रहेको बताए। उनले मेडिटेसनको काम गर्ने सामर्थ्य कवितामा रहेको धारणा राखेका थिए। आफूले कवितामा प्रसस्तै बाल मनोविज्ञानसमेत पाएको पौडेलको भनाइ थियो। कवि सरला केसीले पनि अनुशाका कवितामा शक्तिशाली भाव रहेको बताएकी थिइन्। कवि लेखक राजीव श्रेष्ठले अनुशाका कवितामा जीवनको अनुभूति पाएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा पत्रकार कवि र लेखक दीपक सापकोटाले अनुशाका केही कविता बाचन गरेका थिए। पत्रकार एवं साहित्यकार राज सरगमले सहजकर्ताको भूमिका निर्वाह गर्दै अनुशासँग कृतिका बारेमा संवाद गरेका थिए। त्यसक्रममा अनुशाले आफूले शब्दमा भन्न सकेका कुरा कविताका माध्यमबाट अभिव्यक्त गरेको बताइन्।

मैले विभिन्न कारणले परिवारसँग टाढा रहनु पर्दाका अनुभूति कवितामा समेटेकी छु। आफ्ना भन्न नसकेका भाव कविताका माध्यमबाट व्यक्त गरेकी छु। यो कृति प्रकाशनका लागि मेरो परिवारको ठूलो साथ छ’ उनले भनिन्। उनले आफूमा प्रकृति प्रेम र शिव भगवानप्रति बढी भक्तिभाव रहेको बताएकी थिइन्। उक्त कार्यक्रममा लेखक तथा बाल गीतकार रामबाबु सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।