स्वस्तिमा भन्छिन्ः लालीबजार अभिनयको टर्निङ प्वाइन्ट

काठमाडौं । फिल्म ‘बुलबुल’ र ‘चिसो मान्छे’मा सशक्त अभिनय गरेर चर्चा पाएकी नायिका स्वस्तिमा खड्का यही शुक्रबार फिल्म ‘लालीबजार’ लिएर दर्शकमाझ आउँदैछिन् । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान तानेको थियो । पोस्टरमा स्वस्तिमालाई गर्भवती लुक्समा शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको देखाइएको थियो । फिल्ममा उनले मधुवाला नामकी वादीको भूमिका निभाएकी छन् ।

यो फिल्मलाई उनले आफ्नो अभिनय यात्राको ‘टर्निङ प्वाइन्ट’ मानेकी छिन् । फिल्ममा अभिनय गरेको १० वर्षे करियरमा पहिलोपटक यही फिल्ममा अडिसन दिएकी स्वस्तिमा फिल्मप्रति आशावादी छिन् ।

‘मलाई आगामी धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । यो फिल्ममा कलाकारका रुपमा जोडिन पाउँदा आफूलाई ‘लक्की’ मान्छु । यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु । आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ । निकै उमेर हुनुभएका आमाहरुलाई भेटेर कुराकानी गरेकी थिएँ । मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ’, उनी भन्छिन् ।

यम थापाको कथा र निर्देशन रहेको फिल्ममा स्वस्तिमासँगै रविन्द्रसिंह बानियाँ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्द श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।