साहु बाः कथावस्तु र मेकिङमा दर्शकको चासो

काठमाडौं । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ लाई यतिबेला दर्शकलाई निकै मनपराएका छन् । दर्शकको चासो सिरिजको कथावस्तु र मेकिङमा छ ।

साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको यस सिरिजका हालसम्म दुई एपिसोड सार्वजनिक भइसकेका छन् । क्राइम, एक्सन र रिभेन्ज(बदला) मा केन्द्रित कथावस्तुमा रहेको सिरिजले आफ्नो वृहत् क्यानभास र एक्सनका कारण दर्शकको ध्यान आफूतिर तानेको छ ।

नेपाली वेबसिरिजको इतिहासमा सम्भवतः पहिलो पटक ३८० जना भन्दा बढी कलाकारले यसमा अभिनय गरेका छन् । यस सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका कलाकारको अभिनय छ ।

निर्देशक एवं लेखक सुजोय योङ निर्देशित सिरिजको कुल २४ एपिसोड तयार गर्न निर्माण टोलीले करिब तीन वर्षको समय लगाएको थियो । आयुषमान जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको यस सिरिजको सम्पादक रामप्रसाद चौधरी हुन् । सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व छ ।

वेबसिरिज हरेक साता साँझ ६ बजेपछि म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलमा सार्वजनिक हुने गरेको छ । सबै एपिसोडहरू एकै पटक हेर्न चाहने दर्शकहरूका लागि मोमो एपमा राखिएको छ ।