काठमाडौं । डा. कपिल रिजालद्वारा निर्देशित फिल्म ‘गौथली’ आगामी साउन १ गते रिलिज हुने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज मिति पनि खुलाएको हो । नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालले झण्डै दुई दशक अघि यही नाममा फिल्म निर्माण गरेका थिए । यही नाम लिएर अहिले उनका छोरा डा. कपिलले फिल्म बनाएका हुन् ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, सिम्रन खड्का, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । फिल्ममा बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली छन् ।
डा. भोलाकै कथा रहेको फिल्ममा पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।
फिल्ममा संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ ।
फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्नेछ । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ ।




