द र्‍यापरः द भर्स स्पिक विजेतालाई १५ लाख

काठमाडौं । नेपाली हिप–हप संगीतको प्रवद्र्धन गर्न नयाँ रियालिटी शो ‘द र्‍यापरः लेट द भर्स स्पिक’ सिजन १ घोषणा गरिएको छ। आयोजक एनएक्सजी इन्टरटेनमेन्टले यो शो नेपालकै पहिलो कमर्शियल र्‍याप रियालिटी शो भएको दाबी गरेको छ ।

कार्यक्रमका निर्देशक युवराज साउदका अनुसार आगामी जेठ दोस्रो सातादेखि शो हिमालय टेलिभिजनबाट सुरु हुने भनिए पनि शोको प्रसारण मिती तोकिएको छैन । शोको डिजिटल पार्टनरको रूपमा हाइलाइट्स नेपाल र भोटिङ पार्टनरको रूपमा खल्ती रहेका छन्। शोमा जम्मा २० एपिसोड रहनेछन्।

डिजिटल अडिसनमार्फत देशभरबाट ६४ जना प्रतिस्पर्धी छनोट भएका छन्। उनीहरूले आफ्ना शब्द, संगीत, कम्पोजिसन र र्‍याप क्षमतालाई फरक–फरक शैलीमा प्रस्तुत गर्नेछन् ।
शोका मुख्य निर्णायकको रूपमा गिरीश खतिवडा (गोर्खाली जी) रहेका छन्। स्क्वाड लिडरहरूमा विवश जमरकट्टेल (विवश जेके), बिबेक घोरासैनी (बीजी बिर्गोर्खाली), संकेत श्रेष्ठ (ओएमजी स्पार्क) र जगत पुन (रेक्स) रहेका छन्।

प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै टप १६, टप १० हुँदै टप ४ प्रतिस्पर्धी फाइनलमा पुग्नेछन्। टप १६ देखि टप १० सम्म निर्णायक र दर्शकको ५०र५० मतका आधारमा निर्णय हुनेछ भने त्यसपछि दर्शकको मत मात्रै निर्णायक हुनेछ।

विजेताले १५ लाखसहित ट्रफी प्राप्त गर्नेछन्। साथै, फाइनलिस्टहरूलाई अन्तर्राष्ट्रिय टुरको अवसर पनि प्रदान गरिनेछ । डिजिटल अडिसन वैशाख १३ गतेसम्म खुला गरिएको थियो, जसमा ७ हजारभन्दा बढी सहभागीले आवेदन दिएका थिए।