उत्तराखण्डको कैंची धामबाट रेखाको काउकुती घोषणा

काठमाडौं । अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ निर्माण गर्ने भएकी छिन् । रेखाले गत सोमबार भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गर्दै फिल्मको घोषणा गरेकी हुन् । रेखाको यो फिल्म आफ्नो ब्यानरको ८ औं फिल्मको रूपमा रहनेछ ।

फिल्ममा श्रद्धा प्रसाईंको निर्देशन रहनेछ । श्रद्धा कमेडी शो ‘कमेडी दरबार’की निर्देशक हुन् । उनले रिलिजको क्रममा रहेको फिल्म ’ककाकिकी’को निर्देशनसमेत गरिसकेकी छन् ।

फिल्म ‘काउकुती’मा रेखाकै प्रमुख भूमिकामा अभिनय रहनेछ । अभिनेता भने नयाँ अनुहारलाई लिने निर्माण पक्षको तयारी छ । फिल्ममा विक्की अग्रवाल र विनेश राईको कथा छ भने पटकथा विनेश स्वयंले तयार पारेका छन् । फिल्ममा नवराज श्रेष्ठ र बलराम शाही ठकुरीको लगानी रहनेछ । बलराम रेखाका श्रीमान् समेत हुन् ।

आगामी असोजमा छायांकनको तयारी गरिएको यस फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । फिल्मको एउटा गीत चर्चित र्‍यापर लिल झोला (आकाश क्षेत्री)ले गाउनेछन् ।