काठमाडौं । आगामी जेठ १ गतेबाट रिलिज हुने फिल्म ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक भएको छ । यो लोकलय गीतलाई दर्शकले रुचाएकाले लिरिकल र्याप भर्सनलाई पनि मन पराउने विश्वास निर्माण टिमको छ ।
सुमित पाठकको संगीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियल जीको स्वर रहेको गीतमा हर्क साउदको शब्द छ । सुमित नेपाल आइडल सिजन २ उपविजेता हुन् ।
सहारा शर्माको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मका निर्माता अभिमन्यु दीक्षित र कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।
फिल्म गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।




