पलसँग तेस्रो सहकार्य गर्दै चन्द्र

काठमाडौँ । निर्देशक चन्द्र पन्तको तेस्रो फिल्ममा अभिनेता पल शाह नै अनुन्ध भएका छन् । शुक्रबार फिल्म ‘आ बाट आमा २’ को छायांकनको पहिलो चरणको सुटिङ सकिएलगत्तै निर्देशक पन्तले शाहलाई नाम तय नगरिएको नयाँ फिल्मका लागि अनुबन्ध गरेका हुन् ।

निर्देशक पन्तले ‘आ बाट आमा २’ को सुटिङ लगभग सकिएकाले अब डबिङतर्फ लाग्ने जानकारी दिए। उनका अनुसार नयाँ फिल्मको हकमा सबै कलाकार तथा प्राविधिक फाइनल भएपछि मात्रै छायांकनको औपचारिक घोषणा गरिने छ। गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘आ बाट आमा’ बाट सुरु भएको उनीहरूको सहकार्य तेस्रो फिल्मसम्म पुगेको हो। पहिलो सहकार्यबाटै यो जोडीलाई राम्रो सफलता मिलेको छ । पहिलो फिल्मले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

फिल्म ‘आ बाट आमा २’ आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउँदैछ। आर्या इन्टरटेनमेन्ट प्रा।ली।को ब्यानरमा निर्माण भएको यस फिल्ममा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का,दिलिप अखेडाको अभिनय छ ।

निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्। नेपालमा यस फिल्मको वितरण ‘आरआर फिल्म्स’ ले गर्दैछ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले लिएको छ।