कैलाश खेरविरुद्ध मानहानीको मुद्दा

मुम्बई(एजेन्सी) । भारतका चर्चित सुफी गायक कैलाश खेरमाथि धुन चोरीको आरोप लागेको छ । संगीतकार विमल बाबराले आफ्नो गीतको धुन कैलाशले चोरेर गाएको भन्दै उनीविरुद्ध मानहानीको मुद्धा दर्ता गर्ने तयारीमा छन् । विमलले कैलाशका विरुद्ध आफ्ना धुन चोरीको आरोपमा मुद्दा दर्ता गर्न लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको गृहक्षेत्र गोरखपुरमा आयोजना हुन लागेको महोत्सवका लागि बिमलले एक थीम गीत तयार पारेका थिए । कैलाशले उक्त थीम गीतको धुन एक गीतको धुनको नक्कल गरेको भन्दै उल्टै विमलका विरुद्ध कपिराईट उल्लंघनको आरोप लगाएका थिए ।  यो थीम गीतको नक्कलका विषयमा विवाद भएपछि संगीतकार विमलले आफूमाथि कैलाशले लगाएको आरोपको खण्डन गर्दै उक्त गीत आफूले कम्पोज गरेको र प्रणय सिंहले गाएको खुलाएका छन् ।

संगीतकार विमलले गीत पुरै मौलिक रहेको बताए । ‘यो थीम गीत एक भोजपुरी लोक नृत्यमा आधारित छ । जसलाई मैले ३० वर्ष अघि एक भिखारी महिलाले गाएको सुनेको थिएँ,’उनले भनेका छन्, ‘ ममाथि लगाएको झूठो आरोपको विरुद्ध मानहानीको मामलामा मेरो कानूनी सल्लाहकारसँग परामर्श गरिरहेको छु । यदी कसैलाई थीम गीतको मौलिकतामा आपत्ति छ भने उसले अदालत जानुपर्छ र म त्यसको जवाफ त्यही दिनेछु ।’