अंगुरी भाभी बनिन् नयाँ बीग बोस

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनमा अंगुरी भाभीका रुपमा परिचित अर्थात शिल्पा सिन्देले बीग बोस ११ को शो जितेकी छन् । आइतबार भएको भव्य ग्राण्ड फिनालेमा सञ्चालक सलमान खानसँगै अभिनेता अक्षयकुमारले विजेताको नाम घोषणा गरेका थिए । टेलिभिजनकी बहु हिना खान फष्ट रनरअप बन्दा शिल्पाले सर्वाधिक भोट पाएकी थिइन् ।

शोको विजेताले ट्रफीसँगै ५० लाख रुपैंयाँ पुरस्कार पाउँछन् । शिल्पाले ४४ लाख रुपैंया पाएकी छन् । करिब ३ महिनाको यात्रा पछि ४ प्रतियोगी अन्तिम प्रतिष्पर्धाका लागि रहेका थिए । फिनालेमा शिल्पा शिन्दे, हिना ख़ान, विकास गुप्ता र पुनीश शर्मा थिए। शिल्पा, हिना र विकास सेलिब्रेटी कन्टेस्टेन्टका रुपमा रहे पनि पुनीश कमनर प्रतिष्पर्धीका रुपमा शोको हिस्सेदार बने ।

शिल्पा शोमा शुरुदेखि नै लोकप्रिय प्रतिभाका रुपमा सहभागी भएकी थिइन् । कामका बेला उनी धेरै सक्रिय नभए पनि खाना पकाउने मामलामा उनी सबैको गुरु बनिन् । समूहका अन्य प्रतियोगीहरु समूह बनाएर खेलिरहँदा उनी चाहिँ एक्लै खेलिन् । शोको फिनालेमा अक्षय र सलमान साइकलमा प्रवेश गरेका थिए ।