कस्तो होला सलमानको टाइगर व्यापार

मुम्बई(एजेन्सी) । वर्ष २०१७ को बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्दा है’ यो शुक्रबारबाट फिल्म हलमा दर्शकमाझ आउँदैछ । सलमानको फिल्मलाई स्वागत गर्न हलहरु पनि तम्तयार भएर लागिपरेका छन् । फिल्मको एडभान्स बुकिङ पनि शुरु भइसकेको छ । केही सेन्टरमा फिल्मको शो हाउसफूल भइसकेको खबर पनि आइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार लामो समय पछि अभिनेता सलमान खानको एक्सन फ्लेबरको फिल्म आउन लागेकाले पनि दर्शक र हलमा फिल्मको व्यापारलाई लिएर नयाँ उत्साह आइसकेको छ । केही व्यापारिक पण्डितहरुले सलमानको फिल्मले यो वर्ष बलिउड बक्स अफिसको सबै रेकर्ड तोड्ने अनुमान पनि लगाइसकेका छन् ।

‘मलाई लाग्छ कि सलमानको फिल्मको पहिलो दिनको कमाई ३५ करोड रुपैंयाँ भन्दा बढी हुनेछ । तर त्यो भन्दा बढी कति कमाउँछ अहिले नै भन्न सकिन्न ।’ व्यापार विश्लेषक अक्षय राठीले भनेका छन् ।

उनले सलमानको फिल्मले लाइफटाइम व्यापार गर्नेमा भने आशा व्यक्त गरे । ‘यदि फिल्मको लाइफटाइम व्यापारको कुरा गर्ने हो भने टाइगर जिन्दा है मा यो व्यापार गर्ने सबै आधार छन् । यदि ती सबै आधारलाई दर्शकले मनपराउने हो भने ३ सय करोडको व्यापार गर्ने यो फिल्म सलमानको तेस्रो फिल्म हुनेछ । मलाई विश्वास छ कि सलमानको यो फिल्म बजरंगी भाईजान र सुल्तान जस्तै कमाई गर्न अब्बल हुनेछ ।’ उनले भनेका छन् ।

सलमानको फिल्म ‘प्रेम रतन धन पायो’ले पहिलो दिन ४० दशमलब ३५ करोडको व्यापार गरेको थियो । यो सलमानको हालसम्मको सबैभन्दा ठूलो ओपनिङ हो ।