हरिवंशसँग मर्कियो दीपाश्रीको कम्मर

काठमाडौं । फिल्म ‘जात्रा’बाट चर्चामा आएका निर्देशक प्रदिप भट्टराईको दोस्रो प्रोजेक्ट ‘सत्रु गते’को छायांकन अन्तिम चरणमा पुगेको छ । महसञ्चारको प्रस्तुतिमा बनेको फिल्मको ‘रुपै मोहनी’बोलको गीतको तीन दिनको छायाकंन गत आइतबार बौद्धमा गरिएको थियो ।

बौद्धस्थित समता हस्पिटलमा यस गीतको छायाकंन गर्दा छायांकनस्थल भन्दा पनि गीतमा नृत्य गर्ने कलाकारहरु प्रमुख आकर्षण बने । लोकराज अधिकारीका शब्द र टंक बुढाथोकीको संगीत रहेको गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर छ । गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरी पौड्याल, बसुन्धरा भुसालले कम्मर मर्काएका थिए ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतमा विशेषत अभिनेत्री तथा निर्देशक दीपाश्री निकै खुशी थिइन् । आफू भन्दा कलाकारिता र उमेरमा पनि विशिष्ट व्यक्ति हरिवंशसँग नाँच्न पाउँदा उनी फुरुङ्ग परेकी थिइन् ।

किरण केसीले १६ वर्षपछि निर्माण गरेको फिल्म वीरगञ्ज र काठमाडौंमा खिचिएको छ । निर्देशक भट्टराईका अनुसार शत्रुहरुलाई परास्त गर्ने विशेष एक दिनमा ‘सत्रु गते’ केन्द्रित रहेको छ । फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्म चैत्र ९ गते रिलिज हुँदैछ ।