ह्याप्पी न्यू इयरको मुटु सार्वजनिक

काठमाठौं । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘ह्याप्पी न्यू इयर’ को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच ‘मुटु’ बोलको स्याड भर्सन रिलिज गरिएको हो । यहि पौष १४ देखि देशभरका सिनेमा घरमा प्रदर्शन हुन लागेको यस फिल्मको गीतमा सनुप पौडेलको स्वर रहेको छ ।

किरण माइकलको शब्द तथा संगीत समावेश गीत निकै मन छुने बनेको छ । कलाकार कुशल थापा, सन्ध्या केसी र पुकार गौतम यो गीतमा फिचर भएका छन् । सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यस फिल्मलाई देवकुमार श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मको छायांकन अष्ट्रेलियन नागरिक बेन्जामिन ड्रेले गरेका हुन् ।

अंग्रेजी नयाँ वर्ष सन् २०१८ लक्षित चलचित्र ‘ह्याप्पी न्यू इयर’ लाई लिएर कलाकार कुशल थापा निकै आशवादी देखिएका छन् । आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका कुशलले ‘ह्याप्पी न्यू इयर’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । यता नायिका सन्ध्याले पनि फिल्म राम्रो बनेको भन्दै यो पटकको नयाँ वर्ष ‘ह्याप्पी न्यू इयर’ हेर्दै मनाउन दर्शकलाई आग्रह गरेकी छिन् ।

रिलिज डेट नजिकिए सँगै फिल्मको प्रचार प्रसारलाई अझ व्यापक बनाउन निर्माण यूनिट पौष ४ गते स्ट्रिट कन्सर्टका लागि मोफसल जादैछ । पौष ४ गते हेटौडा, ५ गते नारायणघाट, ६ गते बुटवल, ८ गते पोखरा हुँदै १० गते काठमाडौंमा कन्सर्ट गर्ने सेड्युअल रहेको छ । फिल्मलाई रति थापाले निर्माण गरेकी हुन् ।