‘शेरबहादुर बन्न बलिउड फिल्म छोडें’

काठमाडौं । बलिउड फिल्म ‘एक दुजेके लिए’बाट अभिनय करियर शुरु गरे पनि अभिनेता सुनिल थापा नेपालमा फिल्म ‘चिनो’बाट स्थापित भए । यो फिल्ममा उनले निभाएको ‘राते काँइला’ चरित्र सुनिलका लागि नेपाली फिल्ममा ब्राण्ड नै साबित भयो । पछिल्लो पटक उनी बलिउड अभिनेत्री प्रियंका चोपडासँग फिल्म ‘मेरी कोम’मा प्रियंकाका बक्सिङ गुरुका रुपमा देखिए । यो फिल्मपछि उनी बलिउड र नेपाली फिल्म दुवैमा व्यस्त हुन थालेका छन् ।

सुनिल आगामी माघ १९ गतेबाट फिल्म ‘शेरबहादुर’मा शीर्ष भूमिकामा देखिँदैछन् । यो फिल्म खेल्नकै लागि उनले दुई बलिउड फिल्मको अफर पनि अस्वीकार गरेको खुलाएका छन् । ‘मलाई बलिउडबाट दुई फिल्मका लागि अफर पनि आएको थियो । तर शेरबहादुरमा मेरो भूमिका दमदार देखेर ती फिल्मको अफर अस्वीकार गरें,’उनले भने,‘शेरबहादुरमा म दृष्टिविहिन पूर्व ब्रिटिस लाहुरेको भूमिकामा देखिँदैछु । मैले दृष्टिविहिन चरित्रकै लागि तीलगंगा आँखा अस्पतालमा पनि केही समय बिताएँ ।’

उनले फिल्म हलिउडबाट प्रभावित भएको खुलाए । ‘फिल्मको स्क्रिप्ट पढ्दा खेरी नै यो हलिउडबाट प्रभावित भएको भन्ने थाहा पायौं । त्यसकारणले फिल्म हलिउडबाट प्रभावित भएको भन्नमा कञ्जुस्याई गर्दिन । हलिउडबाट प्रभावित भए पनि फिल्ममा दर्शकले नेपाली मौलिकता प्रशस्त पाउँछन् ।’ उनले भने ।
फिल्मका क्रिएटिभ निर्देशक प्रदिप भट्टराई फिल्म हलिउडबाट प्रभावित भए पनि नेपाली मौलिकता प्रशस्त राखिएको बताए । ‘हलिउडबाट फिल्म प्रभावित भए पनि शेरबहादुरलाई नेपाली मौलिकतामा ढालेका छौं,’उनले दाबी गरे,‘फिल्म हेर्दा दर्शकले हलिउड फ्लेबर पाउनुहुन्न । अन्य फिल्मको विषय नायक केन्द्रित हुन्छ । तर यो फिल्ममा बस्तुलाई नायक बनाएका छौं । झ्याल, ढोकालगायतका सबै बस्तु फिल्मका नायक छन् ।’

निर्माता गौरीशंकर धुजुले लामो समयपछि फिल्म निर्माणमा पुनरागमन गरेकाले आफ्नो पुनरागमन सुखद हुने आशा व्यक्त गरे । नायिका मेनुका प्रधानले अहिलेसम्म गरेका फिल्ममा भन्दा ‘शेरबहादुर’मा आफ्नो चरित्र भिन्न रहेको बताइन् । अभिनेता रविन्द्र झाले फिल्ममा आफू लभरब्वाईका रुपमा देखिने खुलाए । त्यस्तै कर्माले फिल्ममा आफ्नो चरित्र चोरको रहेको बताए ।

धिराज प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा गौरीशंकर धुजु र धिरज राजवंशीको लगानी तथा आर राजवंशीको निर्देशन छ । फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झालगायतको अभिनय छ । फिल्ममा बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रमोद क्षेत्रीको लेखन छ ।