सलमानको टाइगरलाई १ सय ८८ करोड मुनाफा

मुम्बई(एजेन्सी) । बक्स अफिसमा कमाईको तुफान ल्याएको सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ले १ सय ८८ करोड मुनाफा कमाईको नयाँ रेकर्ड राखेको छ । सन् २०१७ मा रिलिज भएको फिल्ममा यति धेरै नाफा कमाउने यो मात्र एक्लो फिल्म बनेको छ ।

फिल्म ‘बाहुबली’ पछि गत वर्ष सबै फिल्मभन्दा अगाडि बढेर ३ सय करोड क्लबमा दर्ता भइसकेको ‘टाइगर जिन्दा है’को हिसाबकिताब गर्दा यो मुनाफा निस्किएको हो । सन् २०१७ को डिसेम्बर २२ मा भारतका ४६ सय र विदेशका १ हजार २ सय २५ स्क्रिनमा रिलिज फिल्म निर्माणमा १ सय ५० करोड बजेट लागेको थियो । यो बजेटमा प्रचारप्रसारको ३० करोड रुपैंयाँ पनि जोडिएको छ ।

फिल्मको रिलिज रेन्ज र बजेटको कम्बिनेसनको हिसाबले फिल्मको कमाई जबरजस्त मानिएको छ । फिल्मको घरेलू बक्स अफिसमा वितरक शेयरका रुपमा १ सय ४८ करोड ५० लाखसमेटिएको छ । जबकी ओवरसीज वितरक शेयरका रुपमा ४९ करोड ८ लाख रुपैंयाँ, सेटलाइट राइट्सबाट ७० करोड, डिजिटल राइट्सबाट ५५ करोड र म्युजिक राइट्स तथा मर्चडाइजिङबाट १५ करोड प्राप्त भएको छ ।

सबै हिसाबकिताब जोड्दा फिल्मले हालसम्म ३ सय ३८ करोड ३० लाखको कलेक्सन गरेको छ । फिल्मले १ सय २५ प्रतिशत भन्दा बढी १ सय ८८ करोड ३० लाख रुपैंयाँ मुनाफा भएको छ । फिल्मले घरेलू बक्स अफिसमा सोमबार १ करोड ३५ लाख रुपैंयाको व्यापार गरेको थियो । यो व्यापारसँगै फिल्मको कुल कलेक्सन ३ सय २७ करोड ७ लाख पुगेको छ ।