फ्लोरमा साली कस्को भेनाको

काठमाडौं । मुभिङ पिक्चर्सले निर्माण घोषणा गरेको फिल्म ‘साली कस्को भेनाको’ सुटिङका लागि सोमबारबाट फ्लोरमा गएको छ । फिल्मको चितवनमा मुहुर्त गर्दै सुटिङ शुरु गरिएको हो । कलाकार रिद्धिचरण श्रेष्ठले क्याल्प हानेर मुहुर्त गरेका थिए भने भद्र भुजेलले निर्देशन गरेका थिए ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुकेले क्यामराको स्विच अन गर्दा लेखक पुष्प आचार्यले नरिवल फुटाएका थिए । फिल्मकी नायिका मरिष्का पोखरेल र नवनायक देव सागर बिसीले मुहुर्त संवाद बोलेका थिए । कलाकार श्रेष्ठले चितवन आफैमा प्राकृतिक नगरी रहेकाले फिल्मका लागि उपयुक्त थलो भएको बताए । निर्माता प्रसाद श्रेष्ठको लगानीमा बन्ने फिल्म चितवन र धम्पुसमा खिचिनेछ ।

पुष्प आचार्यको कथा रहको फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ ।  फिल्ममा विल्सनविक्रम राई, सुष्मा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ ‘हैट’, रवि गिरी, वीरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, मिन घलानलगायतको अभिनय रहनेछ ।

मानविय संवेदनामाथि निर्माण हुन लागेको फिल्म पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण हुनेछ । मगर जातिको संस्कृतिमा साली र भेनाको सम्बन्धलाई फिल्ममा देखाइनेछ । दिर्घ गुरुङको छायांकन रहने फिल्ममा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य, रवि बराली र प्रकाश कर्माचार्यको द्वन्द्व हुनेछ । फिल्ममा विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीेको पनि लगानी छ ।