विद्यालय पुस्तकमा बाहुबलीको अध्ययन

मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली २’ले गत वर्ष कमाईको साथ धेरै रेकर्ड नै बनायो । फिल्मले आफ्नो नाममा अनेक रेकर्ड राखिरहँदा एउटा नयाँ रेकर्डमा पनि फिल्मको नाम लेखिने भएको छ । यो फिल्म अब आइआइएम अहमदाबादको नयाँ वर्षको सेलेब्समा केस स्टडीका रुपमा राखिने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्कुलका प्रोफेसर प्रोफेसर भारतन कन्डास्वामीले यो खबरको पुष्टि गरेका छन् । ‘हामी नयाँ वर्षको सेलेबसमा फिल्म ‘बाहुबली २’को केस स्टडी जोड्न चाहन्छौं । यसको मुख्य उद्देश्य विद्यार्थीहरुलाई सिक्वेलको महत्वबारे बताउनु हो,’उनले भने,‘हामी विद्यार्थीलाई फिल्मको सिक्वेल कसरी बन्छ र त्यसको बजार प्रबद्र्धन, पैसा कमाउने उपाय र ख्याती कमाउन कसरी तनावमुक्त भएर काम गर्न सकिन्छ भन्ने कुरा फिल्ममार्फत सिकाउनेछौं ।’

उनले स्टेनफोर्ड विश्वविद्यालयको हवाला दिँदै हरेक फिल्मको प्रिक्वेल सिक्वेल भन्दा उपलब्धिपूर्ण हुने बताए । उनले फिल्मको प्रिक्वेलमार्फत मार्केटिङको उपायलाई कसरी सबल रुपमा लैजान सकिन्छ भन्ने विषय पुस्तकमा राखिने जनाए ।  पुस्तकमा फिल्ममार्फत मार्केटिङको मन्त्र राखिनेछ । जुन मन्त्रमार्फत कला र क्रिएटिभिटीको सम्मानसँगै पैसा कसरी कमाउन सकिन्छ भन्ने उपाय पनि पुस्तकले सिकाउनेछ ।