दुई करोड ग्रसमा मिष्टर झोले

काठमाडौं । गत शुक्रबारबाट अल नेपाल रिलिज भएको फिल्मले पाँच दिनमा २ करोड २२ लाख रुपैंयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । फिल्म वितरक गोविन्द शाहीका अनुसार पाँच दिनमा माउथ पब्लिसिटी र फिल्मका कलाकारको अभिनयको प्रभावले व्यापारमा राम्रो सुधार देखिएको छ ।

उनले पहिलो दुई दिनमा उपत्यकाबाट ७० लाख र मोफसलबाट ४० लाख गरी १ करोड १० लाख ग्रस कलेक्सन गरेको थियो । त्यस्तै बाँकी दुई दिनमा फिल्मले उपत्यकाबाट ४६ लाख र बाहिरबाट ३८ लाख योगदान गरी ८४ लाख रुपैंयाँ तथा पाँचौं उपत्यकाबाट १५ लाख र बाहिरबाट १३ लाख ग्रस कलेक्सन गरी जम्मा २ करोड २२ लाख ग्रस कलेक्सन गरेको छ । निर्माता टेकेन खड्काका अनुसार अझै पनि देशका केही महत्वपूर्ण स्थानका फिल्म अझै पनि हाउसफूल चलिरहेकाले व्यापार अझै माथि पुग्ने सम्भावना देखिएको छ ।

‘बिहीबार सार्वजनिक विदा परेकाले पनि दर्शकको संख्या अझ बढ्नेमा आशावादी छौं ।’ उनले भने ।रामबाबु गुरुङको लेखन तथा निर्देशक रहेको कमेडी जनराको फिल्ममा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।