चंगामा किशोर ‘डिट्ठा’को एक्सन कट

काठमाडौं । टेलिभिजनमा ‘डिट्ठा साब’का रूपमा परिचित कलाकार किशोर भण्डारी अब फिल्म निर्देशकका रूपमा दर्शकमाझ आउने भएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखला ‘डिट्ठा साब’मा शीर्ष चरित्रमा देखिने किशोर टेलिश्रृंखलाका निर्देशक पनि हुन् । किशोरले बुधबार राजधानीमा पत्रकारमाझ नयाँ फिल्म ‘चंगा’को घोषणा गरे ।

निर्देशक किशोरले फिल्म सामाजिक कथामा कमेडी फ्लेबरमा बन्ने बताए । ‘फिल्मले हाम्रो समाजकै कथालाई कमेडी पारामा देखाउनेछ,’ उनले भने, ‘धेरै लामो प्रयासपछि फिल्म बनाउन लागेका छौं । टेलिभिजनका दर्शकलाई हँसाइरहने हामी अब फिल्मका दर्शकलाई पनि हँसाउन तयार छौं ।’

कन्टिन्यूयस मुभि मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा रेश्मा तिमल्सिना ‘बुनुमैचा’ निर्माता छिन् । ‘हामी फिल्म निर्माणमा आउँदैछौं । नयाँ कथामा कमेडी स्वाद दिने भएकाले पनि दर्शकलाई मनपर्नेमा विश्वस्त छौं,’ उनले भनिन् । कलाकार राजन खतिवडाले निकै लामो समयको स्क्रिप्ट लेखनपछि ‘चंगा’को कथा तयार पारिएकाले फिल्म राम्रो बन्नेमा आफूहरु ढुक्क रहेको बताए ।

प्रकु पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमभाषा खड्का, जीवन भट्टराई, राजन खतिवडा र बालकलाकार लखी भण्डारी र कृष भण्डारीको अभिनय छ । यसै साता फ्लोरमा जाने फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत, राजेन्द्र थापाको शब्द र रवीन आचार्यको छायांकन छ । फिल्म आगामी नयाँ वर्षको जेठमा रिलिज गर्ने योजना निर्माण पक्षको छ । फिल्मको छायांकन उपत्यकामा नै गरिने निर्देशक भण्डारीले बताए ।