पाइरेसीमा शाहरुखको रइस एक नम्बरमा

मुम्बई(एजेन्सी)। सन् २०१७ मा रिलिज भएको शाहरुख खानको फिल्म ‘रइस’ले बक्स अफिसमा किङ खानको फिल्मको हिसाबले व्यापार गर्न नसके पनि पाइरेसी गर्ने समूहका लागि भरपुर फाइदा दिलायो । भारतमा गरिएको एक सर्वेमा यो फिल्म पाइरेसीको मामलामा नम्बर एक बनेको देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाइरेसीका लागि विश्वव्यापी रुपमा जति नै सुरक्षा सतर्कता अपनाए पनि न त पाइरेसी कम भएको छ न त यसलाई नियन्त्रणका लागि कुनै उपाय नै अपनाइएको छ । जर्मनीको एक आइटी फर्म टेकजिपिओ जीएमबीएचले गरेको रिर्पोट अनुसार शाहरुखको फिल्मलाई ६ दशमलब २ मिलियन पटक नेटवर्कमा शेयर गरिएको छ । टप डाउनलोड र पÞmाइल शेयरिङमा ‘रइस’सँगै रिलिज गरिएको ऋतिक रोशन र यामी गौतमको फिल्म ‘काबिल’ दोस्रो नम्बरमा छ । ऋतिकको फिल्म ५ दशमलब २६ मिलियन पटक गैर कानूनी किसिमले शेयर गरिएको छ ।

अक्षय कुमारको फिल्म ‘जोली एलएलबी २’ ४ दशमलब ४३ मिलियन वीडियोरलिंक शेयरसँगै पाइरेसीको चपेटामा पर्ने तेस्रो फिल्म बनेको छ । अक्षय कुमारकै ‘ट्वाइलेट एक प्रेम कथा’ पनि पाइरेसीको चौथो नम्बरमा छ । ‘रइस’ र ‘काबिल’भारतका अलावा पाकिस्तान र साउदी अरबमा सबैभन्दा अधिक पाइरेट भएको छ ।

अक्षयको दुवै फिल्म र अजय देवगनको ‘गोलमाल अगेन’ भारत र पाकिस्तानसँगै युएईमा पनि पाइरेट भएको छ । यो सूचीमा २ सय करोड क्लबमा सामेल भएको फिल्म ‘गोलमाल अगेन’ सातौं, अर्जुन र श्रद्धा कपूरको ‘हाफ गर्लफ्रेन्ड’, ‘बद्रीनाथ की दुल्हनिया’, श्रद्धा र आदित्य रोय कपूरको ‘ओके जानू’, ‘द गाजी अटैक’ र ‘जुडुवा २’ पनि छन् ।