लन्डनमा यस्तो देखियो इन्टु मिन्टु लन्डनमा

काठमाडौं । कोरियोग्राफर रेनासा वान्तवा राईको डेब्यु निर्देशकीय फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायांकन पुरा भएको छ । नेपाल र यूकेमा छायांकनको पहिलो तालिका पुरा हुँदा फिल्म निर्माण टिमले फिल्मको फस्टलुक स्वरूप मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरन मगर फिचरिङ गरिएको तस्विर सार्वजनिक गरेको छ ।
फिल्मको बाँकी २५ प्रतिशत बसन्त ऋतुको अवसर पारेर चैत र वैशाखमा युकेमै छायाँकन गरिने निर्देशक राईले बताइन् ।

पहिलो तालिकाअन्तर्गत डिसेम्बरमा युके ‘फेस्टिभ’ दृश्यहरु फिल्ममा खिचिएको छ । फिल्ममा युकेका थुप्रै रमणीय दृश्यहरु पनि कैद गरिएको निर्माण टिमले जनाएको छ । प्रज्जवल शमशेर जबरा र रेनासाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका छ । यसै वर्ष प्रदर्शनमा आएको ‘रानी’बाट सरुकले अभिनयमा डेब्यु गरेका थिए ।

आई कोर फिल्मसको व्यानरमा बनेको फिल्ममा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ । फिल्मका सह–निर्मातामा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनासा, आभास कर्माचार्यको संवाद, शैलेन्द्रध्वज कार्कीको छायांकन, टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।