पेडमेनको साइकल लिलामीमा बेच्दै अक्षय

मुम्बई(एजेन्सी) । आगामी फेब्रुअरी ९ बाट रिलिज हुने फिल्म ‘पेडमेन’का लागि नायक अक्षय कुमार प्रवद्र्धनमा व्यस्त छन् । उनी सांसारिक प्रचार गतिविधि भन्दा पनि पत्नि ट्वींकलसँग मिलेर महिलाको महिनावारी प्रक्रियाको स्वचच्छताका लागि काम गर्ने दिशामा आफ्नो योगदान दिइरहेका छन् । अक्षय र ट्विंकलले महिनावारीको स्वच्छताको विषयमा काम गर्ने एक एनजीओलाई आर्थिक सहयोग गर्न फिल्ममा प्रयोग गरिएको साइकल लिलामीमा बेच्ने योजना बनाइरहेका छन् ।

अक्षय आफैले महिलालाई स्वयं सुरक्षाका लागि सेल्फ डिफेन्स संस्थानका धेरै शाखा देशभर खोलिसकेका छन् । फिल्मको ट्रेलरमा अक्षयलाई आफ्नो साइकलबाट गाउँको गल्ली गल्ली घुमेको सबैले देखेका छन् । उनले त्यही साइकललाई लिलामीमा राख्ने योजना बनाइरहेका छन् । ट्विंकल र अक्षयले एक संयुक्त उद्यममा यो साइकललाई लिलामीमा विक्री गरी प्राप्त रकम ‘पपुलेशन फस्र्ट’ नामक एक संस्थालाई दिने तयारी गरिरहेका छन् । उनीहरुले आफूले दिएको रकमले महिलाको जिन्दगीमा बदलाव आएको देख्ने न। चाहना राखेका छन् ।

समाचार अनुसार यो संस्थाले पुरै भारतभर महिलाको स्वास्थ्य र उनीहरुको स्वच्छ सुविधाको लागि प्रचारप्रसारको काम गर्दै आएको छ । यो संगठन ग्रामीण क्षेत्रमा महिनावारी स्वच्छता र महिला स्वास्थ्यको मामलामा पनि सक्रिय छ । अक्षय र ट्विंकलले यो संगठनको कामबाट प्रभावित भएर उनीहरुलाई सहयोग गर्न साइकल लिलामीमा राख्ने निर्णय लिएका हुन् । यो संगठनको भारतका १ सय १ गाउँमा कार्यक्षेत्र छ । फिल्ममा अक्षयका अलावा राधिका आप्टे र सोनम कपुर प्रमुख भूमिकामा छन् । आर बाल्कीद्वारा निर्देशित यो फिल्ममा ट्विंकलको लगानी छ ।