सर्वनाममा रमाए बालबालिका

काठमाडौं । नेपाली रंगमञ्चमा युवापुस्ताको लगाव र संलग्नता बढिरहेको बेला शनिबार काठमाडौंको सर्वनाममा एक दर्जन बालबालिकाले विभिन्न प्रस्तुति प्रदर्शन गरेर रमाएका छन् । नेपाली रंगमञ्चमा बालमैत्री नाटकहरु प्रदर्शन न्यून भएको अवस्थामा सर्वनामले आयोजना गरेको १५ दिने विन्टर आर्ट क्याम्पमा बसेका बालबालिकाले सर्वनाम थिएटरमा विभिन्न सिर्जनात्मक प्रस्तुति दिएका हुन् ।

करिब दुई घण्टा चलेको कार्यक्रममा बालबालिकाले नृत्य, गायन र नाटक मञ्चन गरेका थिए । नृत्य र गायनसँगै उनीहरुले तयार पारेको तीन नाटक ‘राजाहरुको देश’, ‘रुख’ र ‘शोषण’ मञ्चन भएको थियो । नाटकमा प्रगन्ना सिन्धुलिय, आतिस क्षेत्री, रिमोण्ड मान्नधर, आरुषी राई उजेष डंगोल, टिसा डंगोल, नित्सा दहाल, सम्पदा सापकोटा, प्रत्युसा गौतम सम्राट रायमाझी लगायतको अभिनय रहेको थियो।

कार्यक्रममा प्राडा सावित्री कक्षपतिले रंगमञ्चलाई बालमैत्री बनाउन सर्वनामको प्रयास भएको बताउदै बालबालिकाका प्रस्तुतिले भविष्यको रंगमञ्चलाई अझ उर्वर बनाउने दाबी गरिन् । सर्वनामका राज शाहले बालबालिकालाई कलासँग जोड्ने सानो प्रयास गरेको बताउदै सर्वनामले अब वालमैत्री रंगमञ्चलाई प्राथमिकतामा राख्दै भविष्यमा अझै परिमार्जित कार्यक्रम गर्ने बताए । कार्यक्रममा बालबालिकाले आफै फालिएका बस्तुहरुबाट बनाइएका चित्रहरु प्रदर्शनमा राखिएको थियो ।