सत्रु गतेमा आँचललाई पलको पिरतीको बर्को

काठमाडौं । फिल्म ‘सत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’को चर्चा पछि फिल्म युनिटले बुधबार दोस्रो गीत ‘पिरतीको बर्को’ सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म युनिटले गीत सार्वजनिक गरेको हो ।

पल शाह र आँचल शर्माले फिचरिङ गरेको गीतमा अर्जुन भट्टराईको शब्द तथा कालीप्रसाद बास्कोटाको स्वर र संगीत छ । गीतमा पलले आँचललाई पिरतीको बर्को ओडाउने चाहना राखेका छन् । आगामी चैत्र ९ गते रिलिज हुने फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेलको लगानी छ । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको गीत हलिउड र बलिउडका गीत भन्दा कम नरहेको चर्चा गरे ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसंगै पल शाह र आँचल शर्मालगायतको अभिनय छ । मह सञ्चारको व्यानरमा निर्मित फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत छ ।