सलमान–कबिरको मित्रवत सम्बन्धमा पूर्णबिराम

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र निर्देशक कबिर खानबीचको लामो समयदेखिको मित्रवत सम्बन्धमा पूर्णविराम लागेको छ । फिल्म ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’सम्म मौलाएको साथीत्वको सम्बन्ध तेस्रो फिल्म ‘ट्युबलाइट’ रिलिज पछि प्राप्त खराब रिर्पोटसँगै टुटेको हो ।

यी दुईलाई नजिकबाट चिन्ने साथीहरुले उनीहरुको बोलचाल नै बन्द भएको बताएका छन् । ‘उनीहरु फिल्मी चरित्रलाई कसरी राम्रो बनाउने भन्ने विषयमा लामो समयसम्म बहस गर्थे । तर ट्युबलाइटको बेला सलमानको सुझावलाई कविरले मान्न छाडेपछि उनीहरुको सम्बन्धमा दरार शुरु भएको थियो । अहिले त्यो दरार पूर्ण रुपमा भत्किईसकेको छ ।’ उनीहरु निकट एक साथीले भनेका छन् ।

समाचार अनुसार लद्दाखमा फिल्म ‘ट्युबलाइट’को सुटिङ सकेर मुम्बई फर्किएपछि उनीहरुको सम्बन्ध चिसिन थालेको थियो । सलमानको पछिल्लो फिल्म ‘टाइगर जिन्दा है’मा अर्का निर्देशक अली अब्बास जफरले हस्ताक्षर गरेपछि कबिर र सलमानबीचको सम्बन्धमा साँच्चै दरार आएको अनुमान गरिएको थियो । जुन अनुमान अहिले सत्य साबित भएको छ ।

सलमानलाई नजिकबाट चिन्ने फिल्मकर्मीहरुले पहिला कबिर खानले बनाएको सलमानसँगको सम्बन्धलाई विस्थापित गर्दै यो स्थानमा अहिले अली अब्बाज आइसकेको बताइरहेका छन् । अली अब्बास र सलमानले यसअघि फिल्म ‘सुल्तान’ र अहिले ‘टाइगर जिन्दा है’मा सहकार्य गरिसकेका छन् भने अर्को नयाँ फिल्म ‘भारत’मा पनि उनीहरु सहकार्य गर्दैछन् । कबिरले सलमानसँग चौथो फिल्मको लागि प्रस्ताव नगरेका पनि होइनन् । तर सलमानले यो विषयमा कुनै चासो दिएनन् ।