एलेक्सलाई फिल्ममा अवसर दिने स्वेताको घोषणा

काठमाडौं । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट यो साता बाहिरिएका दाङका एलेक्स विकलाई नायिका तथा निर्मात्री स्वेता खड्काले भविष्यमा हुने आफ्नो प्रोजेक्टमा अभिनयको अवसर दिने घोषणा गरेकी छन् । यो साताको शोमा प्रमुख अतिथिका रुपमा पुगेकी स्वेताले एलेक्सको नृत्यबाट प्रभावित हुँदै फिल्ममा राम्रो भूमिका दिने घोषणा गरेकी हुन् । ‘मलाई एलेक्सको नृत्य मनपर्यो । भविष्यमा मैले बनाउने अन्य फिल्ममा उनलाई राम्रो भूमिका दिने यही कार्यक्रममार्फत घोषणा गर्दछु ।’ स्वेताले भनिन् । स्वेताले निर्माण गरेको फिल्म ‘कान्छी’ आगामी फागुन ४ गते अल नेपाल रिलिज हुँदैछ ।

कोहलपुरको अडिसनबाट काठमाडौंको मेगा अडिसन हुंदै हरेक प्रस्तुतिमा दर्शक र निर्णायकबाट राम्रो मत पाइरहेका एलेक्सले आफूले शोबाट बाहिरिए पनि नायिका तथा निर्मात्री स्वेताको घोषणाले नृत्य र अभिनयमा निखारता ल्याउन प्रोत्साहन गरेको बताए । उनलाई शोमा सहकर्मीहरुले चटपटे हिरोका रुपमा बयान गर्दथे ।

शोबाट बाहिरिँदै गर्दा एलेक्सले एलजीको ३२ इन्चको स्मार्ट टिभि पुरस्कारको रुपमा प्राप्त गरेका छन् । सुनसरी धरानकी मनिता राईले यस पटक पनि सबभन्दा बढि भोट प्राप्त गर्ने प्रतिस्पर्धीको रुपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ह्याम्पर पाइन् । अब प्रतियोगितामा झापाकी केबिका खत्री, सुनसरीकी मनिता राई, मकवानपुरका सरोज प्रजा, सुर्खेतका शेखर घर्ती मगर र रामेछापकी रबिता मगरमात्र बाँकी छन् ।