शाहिद र रणवीरबीच यस्तो ‘कोल्ड वार’

मुम्बई(एजेन्सी) । हलमा प्रदर्शनरत बलिउड फिल्म ‘पद्मावत’का प्रमुख दुई कलाकार रणवीर सिंह र शाहिद कपुरबीच ‘कोल्ड वार’ शुरु भएको छ । फिल्ममा शाहिदको तुलनामा रणवीरको अभिनयको तारिफ बढेपछि शाहिद त्यसबाट असन्तुष्ट छन् । उनले अलाउद्दीन खिलजीको चरित्र आफूले रणवीरले भन्दा अलग किसिमले गर्न सक्ने अहिले बताइरहेका छन् ।

‘हो, सञ्जय लिला भन्सालीको यस्तो फिल्ममा कुन चाहिँ कलाकार खिलजीको भूमिकामा अभिनय गर्न चाहदैनन् र ? कफी विथ करणमा एकपटक उनले कमिनेमा मेरो भूमिका मैले भन्दा उनले अझ राम्रो गरी गर्दछु भनेका थिए । त्यसकारण म पनि रणवीर भन्दा अझ राम्रो किसिमले खिलजीको चरित्र निर्वाह गर्न सक्थें ।’ शाहिदले भनेका छन् ।

उनले रणवीर र आफ्नो काम गर्ने शैली अलग किसिमको भएकाले पनि रणवीरको भन्दा आफ्नो अभिनय फरक हुने दाबी ग्रेका छन् । ‘म रावल रतन सिंह थिए । जो बढी रिएक्ट गर्दैन थियो । म सुटिङको सेटमा यस्तै थिएँ । सिनको बीचमा म्युजिक सुन्थें ।’ शाहिदले सम्झिएका छन् ।

उनले रणवीर जस्तो प्रतिभावान कलाकारसँग काम गरेका कारण आफूले पनि आफ्नो उत्कृष्ट प्रस्तुति दिने कोशिस गरेको दाबी गरे । गत जनवरी २५ मा रिलिज भएको यो फिल्म केही राज्यमा प्रतिबन्धका बाबजुद पनि बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ ।