पोखरामा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु

पोखरा । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा चार दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित महोत्सवमा विभिन्न ३० देशका ५० वटा फिल्म प्रदर्शन गर्न लागिएको हो ।महोत्सवमा प्रदर्शन गराउनका लागि विश्वका विभिन्न देशबाट तीन सयको संख्यामा फिल्म प्राप्त भएकोमा त्यसमध्ये ५० वटा फिल्मलाई प्रदर्शनका लागि छनोट गरिएको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले बताए ।

महोत्सवको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले फिल्मले समाजको चित्रण गर्ने बताए । फिल्मको छायांकनका लागि पोखरा अत्यन्त उर्वरभूमि भएको बताउदै उनले निर्माता तथा कलाकारको रोजाइमा यो ठाउँ पर्ने गरेको उल्लेख गरे ।महोत्सवको स्थानीय संयोजक तीर्थ श्रेष्ठले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले पोखराको गरिमालाई उचो बनाएको बताए । पोखरामा फिल्मको छायांकन तथा विकास २०१३ सालयता भएको बताउदै उनले भारतीय कलाकार देव आनन्द जस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारले पोखरामा फिल्मको छायांकन गरेको स्मरण गराए ।

प्रदेशसभा सदस्य कृष्ण थापाले प्रकृतिमा मनोरमस्थल पोखरामा रहेको र यहाँ फिल्मको विकासको पर्याप्त सम्भावना रहेको बताए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले फिल्म जीवन जगतको चित्रण गर्ने महत्वपूर्ण माध्यम भए पनि यो क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । महोत्सवका निर्देशक मनोज पण्डितले फिल्म समाज, शिक्षा र राजनीति सबै भएको बताउँदै यसको विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।