लालबाबुसँग केकीको सेल्फी, नोटमा दिए अटोग्राफ !

काठमाडौं । सामान्य प्रशासन मन्त्री रहँदा डिभी र पीआर लिएर बसेका कर्मचारीलाई कारवाही गरेका एमाले नेता लालबाबु पण्डितसँग जोकोही भेट्दा पनि सेल्फी खिच्न लालयित हुन्छन् । गत मंसीर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचनमा मोरङबाट सांसदमा निर्वाचित यिनै लालबाबुसँगको सेल्फी लिने फ्यानको सूचीमा यसपटक केकी अधिकारी परेकी छन् ।

आगामी पुस २१ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘राज्जा रानी’मा प्रमुख भूमिकामा देखिएकी केकीले फिल्मको प्रमोसनका क्रममा विराटनगरमा लालबाबुसँग सेल्फी लिएकी हुन् । केकी नेता लालबाबुको ठूलो शुभचिन्तक पनि हुन् ।

पण्डितलाई देखेपछि केकीले हजारको नोटमा लालबाबुको अटोग्राफ समेत लिइन् । चल्तीकी सिनेमा नायिकाले आफूबाट अटोग्राफ लिएपछि लालबाबु पनि के कम् ? उनले केकीको सौन्दर्य प्रशंसा गर्न भ्याए । लगत्तै फिल्मको गीतमा उनले केकी र नाजिरसँग कम्मर भाँचे ।
उनलाई राज्जा रानीले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित पब्लिसिटी कार्यक्रममा समेत मुख्य अतिथि बनाएको थियो । आफू मन्त्री बने फिल्मको लगानी उठाइदिने समेत पण्डितले बचन दिए । उक्त क्षेत्र पण्डितको निर्वाचन क्षेत्र समेत हो ।

उनले तराईमा व्याप्त दहेज परम्पराबारे बोले । राज्जा रानीले समेत दहेज अर्थात दाइजो प्रथाको कथा भन्छ । अब बन्ने वाम सरकारले दाइजो प्रथालाई निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई १० हजार रुपैयाँ दिने योजना ल्याउने बताए । उनले फिल्मको कथावस्तु र अभियानलाई सकारात्मक भनेर चर्चा गरे ।

बिराटनगरदेखि सुरु भएको राज्जा रानी क्याम्पेन बुधबार जनकपुरमा हुँदैछ । केकीसहित अभिनेता नाजिर हुसेन र भोर कम्पनीका प्रतिनिधि टोलीमा छन् । पुस २१ ग्ते रिलिज हुने फिल्मसँग मिलेर भोरले तराई र पूर्वी मधेशका जिल्लामा दाइजो र बालविवाह विरुद्ध जागरण अभियान चलाएको छ । उक्त अवसरमा नरहरि प्रेमी र सुमिना लोले स्टेज गायकी प्रस्तुत गरेका थिए । रमेश एमके पौडेल निर्मित सिनेमालाई यम थापाले निर्देशन गरेका हुन् ।