पञ्चायतमा न्याय खोज्दै नीता

काठमाडौं । पञ्चायती व्यवस्थामा समाजमा हुने कानूनी न्यायलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार पत्रकार र फिल्मकर्मीमाझ राजधानीमा सार्वजनिक गरिएको हो ।

२०३३ सालको कथालाई उठान गरिएको फिल्मको ट्रेलरमा नायिका नीता ढुंगानाले पाएका दुःखलाई प्राथमिकता दिइएको छ । अन्यायमा परेकी नीताले आफूलाई न्याय दिन नसक्ने भन्दै संवाद बोलेकी छन् । फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, गीता अधिकारी, किशोर थापालगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, टंक वुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रवि अधिकारीको कार्यकारी निर्माण छ ।

सुशान्त श्रेष्ठ र शंकरप्रसाद सुवेदीले निर्माण गरेको फिल्म आगामी चैत्र २ गतेबाट अल नेपाल रिलिज हुँदैछ । फिल्मले केही समय अघि अमेरिकाको सनफ्रान्सिस्कोमा सम्पन्न फिल्म फेस्टिबलमा उत्कृष्ट फिल्म र उत्कृष्ट नायिकाको अवार्ड पाएको थियो ।