मितिनीपछि अशोकको जय भोले

काठमाडौं । १२ वर्ष अघि ‘मितिनी’ निर्देशन गरेर फिल्म वितरणमा सक्रिय रहेका निर्माता, निर्देशक तथा कलाकार अशोक शर्माले नयाँ फिल्म ‘जय भोले’ घोषणा गरेका छन् ।स्वस्तिमा खड्का र खगेन्द्र लामिछानेलाई प्रमुख भूमिकामा लिएर विहीबार राजधानीमा फिल्म घोषणा गरिएको हो । निर्देशक शर्माको निर्देशन, अभिनय एवं निर्माण रहने सोसल तथा कमेडी ड्रामा विहिबार राजधानीमा घोषणा गरियो ।

निर्देशक शर्माले दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथालाई कमेडी फ्लेबरमा फिल्ममा देखाइने बताए । ‘मेरो क्रिएटिभिटी पुनः पोलिस भएर आउँछ भन्ने विश्वास छ’ शर्माले भने, ‘१२ वर्ष सिर्जनालाई थाती राखेँ । अब यसले नयाँ र पुरानो पुस्तालाई फ्युजन गर्नेछ ।’ अभिनेता लामिछानेले सिटी कथामा फिल्म बन्ने बताए । ‘यो अल्ट्रा मोर्डन स्टोरी होइन’ उनले भने, ‘मेरा लागि फिल्म गर्नुअघि त्यसले छुन्छ कि छुँदैन भन्ने प्रमुख कुरा हो ।’ फिल्म निर्माता भाष्कर ढुंगानाले ‘जय भोले’लाई नयाँ र परम्परागत पुस्ताबीचको मिलनको रुपमा व्याख्या गरे । नेपाली सिनेमामा दुई धारलाई एउटै बनाउने श्रेय शर्मालाई जाने भन्दै उनले प्रशंसा गरे ।

फिल्ममा खगेन्द्रसहित सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुषाललगायतको मुख्य भूमिका छ । मितिनी निर्देशनको १२ वर्षपछि शर्मा निर्देशनमा कमब्याक गर्न लागेका हुन् । फिल्म वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनीजको ब्यानरमा बन्न लागेको फिल्म झापा र इलाममा खिचिनेछ । पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ । शिवरात्रीदेखि छायांकन सुरु हुने सिनेमाको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ ।