प्रशिक्षणमा रमाउँदै मिस तामाङ प्रतिष्पर्धी

काठमाडौं । मिस तामाङ एघारौं संस्करणको हाल धमाधम प्रशिक्षण चलिरहेको छ । अडिसनपछि छनोट भएका २८ जनाले साधना कला केन्द्रमा प्रशिक्षणमा लिइरहेका छन् । तामाङ जातिको कला, संस्कृति, भेषभुषा, रितीरिवाज र धर्मलाई युवा जमातमार्फत् अन्य जातिलगायत आफ्नै समुदायमा सामाजिकिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रशिक्षणका क्रममा विभिन्न विधाका प्रशिक्षकहरूले आ–आफ्नै अनुभवलगायत विधागत प्रशिक्षण दिएका छन् । जसमा रोट्रयाक्ट क्लव अफ काठमाडौंका अध्यक्ष शैलाजा खरेल, भुमीसुधार राज्यमन्त्री यशोदाकुमारी लामा, पाइलट तथा कलाकार विजय लामा, सेतो एकेडेमीका फाउण्डर भुपालमान, मिस तामाङ २०१२ की सुमी मोक्तान, २०१४ की मुनाश्री लामा र २०१६ की उर्मिला योञ्जनले ब्यक्तित्व विकासलगायत अनुभव साटासाट गरेका थिए ।

प्रशिक्षणकै क्रममा तामाङ समुदायको बाजा डाम्फु सम्बन्धी इतिहास र गीत ताम्बा संघका अध्यक्ष धावावंगेल मोक्तान र तामाङ डाजाङ प्रकाशक अर्जुनबहादुर तामाङले भाषाको बारेमा प्रशिक्षित गरेका थिए । त्यस्तै गरी फोटोग्राफीसम्बन्धी फोटोग्राफर कुवेर तामाङ, जुम्बा नृत्यसम्बन्धी सुनिता ग्लानले दिइएको थिइन् ।

कार्यक्रम संयोजक कविता लामाका अनुसार आगामी धार्मिक, सांस्कृतिक भ्रमण लगायतका अन्य कार्यक्रम पनि रहेको जानकारी गराइन् । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमको संयुक्त आयोजित प्रतियोगिताले तामाङ चेलीहरूको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्तामाझ मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफर्म हुने संयोजक मिलन मोक्तानको दाबी छ । प्रतियोगिताको ग्राण्ड फिनाल भने फागुनको १९ गते होटल सोल्टीमा हुने आयोजकले जनाएको छ । यस वर्षको पूर्ण व्यवस्थापन भने तामाङ कला संस्कृति केन्द्रले गरिएको छ ।