पञ्चेबाजामा केही बोल्न खोज्दै कलाकार

काठमाडौं । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘पञ्चेबाजा’को स्याड भर्सनको गीत ‘म केही बोलु’को भिडियो सार्वजनिक भएको छ । राहुल विश्वासको स्वर, कालिप्रसाद बास्कोटाको संगीत र सबिन एकतारेको शब्द रहेको गीतमा कलाकार सौगात मल्ल, कर्मा र जस्मिन श्रेष्ठले फिचरिङ गरेका छन् ।

गीतमा फिल्मका कलाकारहरु पीडामा रहेको प्रष्ट देखाएको छ । तर उनीहरु के कारणले पीडामा छन् भन्ने जान्न दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ । फागुन ११ गतेबाट प्रदर्शनमा आउने फिल्ममा कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।

‘धौली’ र ‘अग्नीदहन’ फिल्मको निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेको यो फिल्ममा एक गाउँका तीन पात्रको कथा दर्शकले हेर्न पाउनेछन् । राजेश गुरुङ निर्माता र सारा गुरुङ सह–निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।