घ्रानमा तामाङ संस्कृतिको कथा

काठमाडौं । तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा फिल्म ‘घ्रान(कसम)’ निर्माण हुने भएको छ । मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने फिल्मले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ती वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा परिवारको अभिभावकले ज्यान गुमाउन परेको, त्यसपछि उनका सन्ततिले समाजमा समानता, सामाजिक न्याय र प्रजातन्त्रको स्थापनाका लागि निर्वाह गरेको भूमिकाका बारे कथा समावेश गरिएको छ ।

तामाङ समुदायको संस्कृति र सामाजिक जीवनयापनका कथामा आधारित रहेर निर्माण गरिएको उक्त फिल्म ओखलढुंगाका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । फिल्ममा सागर घिसिङ, सुकुमाया मोक्तान, शम्भु घिसिङ, विकास तामाङ, राम घिसिङ, सुष्मा मोक्तान, सुनिता तामाङको अभिनय छ । गत बिहीबार राजधानीमा फिल्मका लागि निर्माण गरिएको गीत सार्वजनिक गरिएको थियो ।

कुमार स्याङ्बोको शब्द, निमा दोङको संगीत तथा निर्मला घिसिङ र निमा दोङको स्वर रहेको गीतको बोल ‘सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ रहेको थियो । मोक्तान फिल्मस् प्रालिका अध्यक्ष सुकुमाया मोक्तानले विभिन्न मातृभाषाका फिल्मको विकासमा सरकारले भूमिका निर्वाह गरेमा नेपाली फिल्म उद्योग सम्पन्न हुने बताइन् । आगामी बुद्ध जयन्तीको अवसरमा फिल्म प्रदर्शन हुने बताइएको छ ।